बजार अनुगान देखाउने दाँत मात्र

अमृत कुमार महतो, महोत्तरी । देशभर चाडपर्वको चहलपहल बढेको छ । चाडपर्वसंगै बजारमा व्यस्तता बढदै गएको छ । खाद्यन्नदेखि विभिन्न बस्तुको खरिद बिक्री बढने गर्दछ । अहिले ठुलोदेखि सानो बजार क्षेत्रमा चहलपहल बढने गरेको छ ।  बजारभाउ आकाशिएको छ । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन् । तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम् सरकारी निकाय दसैंतिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका छन् ।

यो वर्ष मात्रै होइन हरेक वर्ष महोत्तरीमा चाडपर्व दसैं अगाडिदेखि बजार अनुगमनको कर्मकाण्ड यही रुपमा चलिरहेको छ । अरु बेला कुम्भकर्ण जस्तो सुतेर बस्ने नियमनकारी निकाय चाडपर्वका बेला एकाएक चल्मलाउँछ । मानौं गुणस्तहीन खाद्यवस्तुले चाडपर्वमा मात्रै मानिसको स्वास्थ्यमा हानी गर्छ र  । 

विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्पराले महोत्तरी जिल्लामा यसपटक पनि निरन्तरता पाएको छ । विशेषगरी दसैंतिहार जस्ता ठूला पर्व र असार मसान्तमा अनुगमन हुने गरेको स्थानीयको गुनासो छ । चाडपर्वको समयमा मात्र अनुगमन हुने र त्यसपछिको समयमा खासै अनुगमन नहुने क्रम दोहोरिएपछि बजारमा अखाद्यवस्तुको बिक्री निरन्तर हुने गरेको उपभोक्ताहरुले बतउदै आएको छ । 

ईलाका प्रशासन कार्यालय बर्दिवासको अगुवाईमा विहिवार बजार अनुगमन गरिएको हो । ईलाका प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय महोत्तरी सहित बर्दिवास नगरपालिका, बर्दिवास उद्योग वाणिज्य संघ, उपभोक्ता संरक्षण मंच, यातायात कार्यालय, नापी कार्यालय,नेपाल प्रहरी र ट्राफिक प्रहरी र पत्रकार सहितको टोलीले बजार अनुगमन गरी म्याद नाघेका लाखौं रुपैयाँको अखाद्य वस्तु नष्ट गरिएको छ । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमन गरिएको इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख सन्देश अधिकारीले जानकारी दिए ।

चाडपर्वमा मात्रै गरिने बजार अनुगमन प्रभावकारी नहुँदा बर्दिबासकै कतिपय पसलमा म्याद नाघेका चाउचाउ बिष्कुट भेटिने गरेको उपभोक्ताको गुनासो छ । पसलबाट अखाद्य वस्तु बरामद गरे पनि व्यवसायीलाई कारबाहीको दायरामा नल्याउँदा बजारमा म्याद नाघेका वस्तु बिक्री वितरण हुने गरेको उपभोक्ताले बताएका छन् । गौशाला बजारमा धेरै पसल दर्ता भएपनि केही पसलहरु दर्ता नगरी सञ्चालन गरेको भेटिएका छन । दर्ता नभएका पसल दर्ता गर्न र म्याद नाघेका वस्तु बिक्री नगर्न र उपभोक्तालाई उत्पादन मिति हेरेर समान खरिद गर्न ’उद्योग वाणिज्य संघ गौशालाका सचिव रमेश कुमार यादवले आग्रह गरेका छन । 

म्याद नाघेका अखाद्य वस्तु बिक्री बितरण गर्दा भारतको बजारबाटै गौशालामा   आउँदा समस्या हुने गरेको स्थानीय इन्जिनियर मनोज महतोले बताए । महतोले भने,’व्यपारी र ग्राहक जागरुक नहुँदासम्म यस्ता सामग्री बिक्री हुने क्रम रोक्न समस्या छ ।’ नीति नियम तथा कार्यान्वयन पाटो पनि फितलो छ । फेला परेका व्यापारीलाई सामान्य रूपमा सचेत तथा जरिवाना नगराइ छाडिने गरिएको छ ।’ 

प्रत्येक वर्ष उपभोक्ता ठगिने, लुटिने क्रम बढ्दो भए पनि उचित अनुगमन र कारबाहीमा प्रभावकारिता नहुँदा ठगिने पक्षमा सुधार आउन नसकेको जनसहयोगी युवा सञ्जाल बर्दिबासका अध्यक्ष परमेश्वर महतोले गुनासो गरे । मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसक्दा यो केवल देखाउने दाँत मात्र भएको उनले बताए ।   

अनुगमन गर्ने क्रममा टोलीले अनुगमन गर्ने प्रविधि तथा मापनयन्त्र समेत ल्याउने गरेका छैनन् । बिक्रीको लागि राखिएका वस्तुको उत्पादन मिति र व्याच मात्रै हेरेर अनुगमन गरिँदै आएको छ । एक व्यापारीले अर्को व्यापारीलाई अनुगमन गर्न टोली आउँदैछ भन्ने सन्देश प्रवाह गर्दा अनुगमन कार्य फितलो भएको देखिन्छ । अनुगमन टोली आउँदै छन् भन्ने सुइको पाउनासाथ व्यापारीहरु पनि ढोका थुनेर बस्ने गर्छन् ।  अनुगमनलाई निरन्तरता दिँदै दसैंतिहारमा मात्रै होइन निरन्तर बजार अनुगमन गरिनुपर्छ मधेश प्रदेश सभा सदस्य सारदा देवी थापाले बताईन् । 

 

 

सम्बन्धित समाचार