पशुपतिनगरमा किसान कार्ड लागु

अमृत कुमार महतो, पशुपतिनगर । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्वर ९, को कार्यालयले कृषकहरुको लागि किसान कार्ड स्किम संचालन गरेको छ । 

किसानलाई सहुलियत मल दिन किसान कार्ड स्किम संचालन गर्न लागिएको वडा अध्यक्ष घुरन महतोले बताए । जसका लागि वडा प्रतिनिधिहरुको बैठकले किसान कार्ड स्किम संचाल गर्ने निर्णय गरेको वडा अध्यक्ष महतोले जानकारी दिए । 

किसानहरुलाई सहकारी मार्फत मल लिनको लागि हुने समस्याको समाधान हुने अपेक्षाको साथ किसान कार्ड स्किमको व्यवस्था मिलाएको वडा अध्यक्ष महतोले  बताए । उनले भने, विशेषगरी कृषकहरुले मल, बिउ, कृषि औजार, कृषि सामाग्री लगायत अन्य आवश्यक कृषि सम्बन्धि वस्तुहरु खरिद गर्नको लागि किसान कार्ड उपयोगी हुनेछ ।

किसान कार्ड स्किम संचालन गर्ने बर्दिबास नगरपालिका वडा नम्वर ९, को कार्यालय बर्दिबास नगरपालिकाको पहिलो वडा भएको छ । यो कार्ड लागू भएपछि कृषकहरुले मलको अभावमा खेति गर्ने समयमा चिन्तित बन्नु पर्ने अवस्थाको अन्त्य गर्न कार्ड सहयोगी बन्ने अपेक्षा रहेको छ । 

यसैबीच वडा कार्यालयले लागु गर्न लागेको किसान कार्ड स्किमको पशुपतिनगरका कृषकहरुले स्वागत गरेका छन । कृषकहरुलाई सहकारीले मल उपलब्ध नगराउँदा खेतीपातीमा आर्थिक अभावका कारण समस्यामा पर्ने कृषकहरुलाई यस स्किम मार्फत राहत पुग्ने पशुपतिनगरका कृषक रामप्रसाद महतोले बताए । 

कृषक महतोले किसान  कार्ड मार्फत साना किसानहरु पनि लाभान्वित हुने भएकाले वडा कार्यालयले शिघ्र रुपमा यसको कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो । वडाले संचालन गर्न लागेको किसान कार्ड स्किम मार्फत कृषकहरुले सहकारीबाट सहजीकरणमा सहज ढंगले मल प्राप्त गर्न सक्छन ।

सम्बन्धित समाचार