व्यापारीलाई मल बेच्ने सहकारी संचालकलाई नियन्त्रणमा लिन खोजीकार्य तीव्र

अमृत कुमार महतो, पशुपतिनगर। महोत्तरीको बर्दिवासमा किसानलाई वितरण गर्न ल्याइएको मल व्यापारीलाई बढी मूल्य लिएर बेच्ने एक सहकारी संस्थालाई कारवाही गरिने भएको छ ।

बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित रहेको जनउपभोक्ता सहकारी संस्थालाई कारवाहीका लागि वडा कार्यालयले नगरपालिका कार्यालयलाई सिफारिस गरेको हो । वडाअध्यक्ष घुरण महतोले आईतबार बर्दिबास नगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय बर्दिबासलाई पत्र काट्दै किसानको मल व्यापारीलाई बेच्ने सहकारी संस्थालाई कारवाहीका लागि सिफारिस गरेका हुन् ।306024269_1543545562771119_8800313916978185084_n.jpg

 

सहकारीका सञ्चालक रामजतन महतोले भंगाहा नगरपालिकाका व्यापारी सन्जय साहलाई बेचेको मल शुक्रबार राति करिब ९ बजे लोड गरेर भंगाहातर्फ जाँदै गर्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि घटना बाहिरिएको हो । आईतवार द पब्लिक टुडे दैनिकले ‘मल वितरणमा सहकारीको मनोमानी ः किसानलाई आहत, व्यापारीलाई राहत’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएपछि वडाध्यक्ष महतोले चासो देखाएका छन् । वडाध्यक्ष महतोले उक्त सहकारी संस्था बारम्बार कालोबजारी कार्यमा संलग्न रहेको पाईएपछि संस्था र संचालकमाथि कारबाही प्रक्रिया अघि बढाईएको बताए ।

किसानहरूलाई मल वितरण गर्दा वडाले कुपनसहितको आफ्नै मापदण्ड बनाए पनि त्यसलाई सहकारीका अध्यक्ष महतोले खुलेआम बेवास्ता गरेको वडाध्यक्ष महतोको आरोप छ । ‘किसानहरूलाई राहत होस् भन्ने उदेश्यले हामीले कुपनको व्यवस्थापन गरेका छौँ तर डिपोमा पुगेपछि सहकारी सञ्चालकले किसानहरूलाईनिराश पारेर फर्काइदिने गरेको व्यापक गुनासो छ,’ वडाध्यक्ष महतोले भने ‘स्थानीय जनताको माग अनुरुप नै वडाबाट हामीले कारबाहीको सिफारिस गरेका हौं ।’

सहकारी सञ्चालक महतोले किसानको आएको मल कृषकलाई वितरण नगरी चर्को मुल्यमा व्यापारीलाई बेच्ने गरेको स्थानीयको आरोप छ । किसानलाई दिनुपर्ने मलमा खेलाँची गर्ने सहकारी र त्यसका सञ्चालकलाई कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।

यता प्रहरीले सहकारी संस्थाका संचालक महतोलाई नियन्त्रणमा लिन खोजीकार्य तीव्र पारेको छ । प्रहरी चौकी चौलिखाका सहायक प्रहरी निरिक्षक चितरन्जन पाण्डेले अहिलेसम्म महतो सम्पर्कमा नआएको बताए । ‘तीन दिनदेखि महतोलाई सम्पर्क गर्न विभिन्न प्रयास गरेपनिसम्पर्कमा आएको छैन,’सहायक प्रहरी निरिक्षक पाण्डेले भने ।

सम्बन्धित समाचार