किसानको मलमा विचौलियाको हालीमुहाली

अमृत कुमार महतो, महोत्तरी । नेपाललाई कृषि प्रधान देश भनिन्छ । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै आएको छ । तर, देश कृषिमा आत्मनिर्भर छैन । अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर छ । कृषि प्रधान देश कृषिमा आत्मनिर्भर हुन नसक्नुका धेरै कारण होलान् । एउटा प्रमुख कारण समयमै किसानले मल नपाउनु पनि हो । खेतीपातीको समयमा किसानले कहिल्यै मल पाउँदैनन् । मल नपाएर किसान हैरान भएको समस्या त आमजस्तै भइसकेको छ । तर महोत्तरीको बर्दिबास नगरपालिका–९, पशुपतिनगरका श्री पशुपति जनउपभोक्ता सहकारी संस्थाले राती–राती व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेको छ । 

सहकारीका संचालक रामजतन महतोले भंगाहा नगरपालिकाका व्यापारी सन्जय साहलाई बेचेको मल लोड गर्दागर्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि घटना सार्वजनिक भएको हो । शुक्रबार राति करिब ९ बजे मलखाद लोड गरेर भंगाहातर्फ जाँदै गर्दा स्थानीय युवाहरूले नियन्त्रण लिएका हुन्, स्थानिय विजय सिंहले बताए ।

व्यापारी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । साहले प्रारम्भिक बयानमा उक्त सहकारीका सञ्चालक महतोले आफूलाई मल बेचेको बताएका छन् । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी चौकी चौलीखाका प्रहरी सहायक निरिक्षक चितरंजन पाण्डे जनाए । उनले भने,‘ मल लोड टेम्पो इलाका प्रहरी कार्यालय बर्दिबासमा जिम्मा लगाइएको छ । 

अहिले नगरभित्र समयमा मल नआउँदा किसानहरू चिन्तित छन् । भएको मल समेत सहकारीका संचालक महतोले मनोमानी गरेपछि किसानहरु थप आक्रोशित बनेका छन् । वडामा पुरानो र नयाँ गरेर २७३ बोरा मल हुनुपर्ने वडा कार्यालयले जनाएको छ । किसानहरूलाई मल वितरण गर्दा वडाले कुपनसहितको आफ्नै मापदण्ड बनाए पनि त्यसलाई अध्यक्ष महतोले खुलेआम बेवास्ता गरिरहेको वडा अध्यक्ष घुरन महतोको गुनासो छ । किसानहरूलाई राहत होस् भन्ने उदेश्यले हामीले कुपनको व्यवस्थापन गरेका छौँ तर डिपोमा पुगेपछि किसानहरू निराश भएर फर्कन्छन्, वडा अध्यक्ष महतोले भने ।

शुक्रबार राति मल वितरक महतोले तीन वटा टेम्पुमा राखेर मल भंगाहा पु¥याएको आरोप स्थानीयको छ । नगरपालिकाले किसानलाई मल वितरण गर्न हरेक वडामा एक सहकारीलाई जिम्मा दिएको हुन्छ ।

अघिल्लो स्थानीय सरकारले अनुदान मल वितरण गर्ने जिम्मेवारी दिएका १४ वटै वडाका सहकारीको सम्झौता खारेज गरेपछि उनै रामजतन महतो उच्च अदालत जनकपुरमा रिट हाल्न पुगेका थिए । अदालतले पनि मल वितरणको जिम्मेवारी यथावत राख्न अल्पकालीन आदेश जारी गरेसँगै वडाका सबै सहकारीले मल वितरण अगाडि बढाएका थिए ।

 

सम्बन्धित समाचार