मधेशको छोरीमा आर्मी मोह


महोत्तरी पोस्ट, पशुपतिनगर । नेपाली सेनाले राष्ट्रप्रति वफादार नागरिक उत्पादन गर्न राष्ट्रिय सेवा दल मार्फत हजारौं स्कुले विद्यार्थीहरुलाई तालिम दिईरहेको छ । राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय बर्दिवास सैनिक शिविर महोत्तरीले कार्य क्षेत्रमा पर्ने १४ जिल्लाका ७३ वटा स्कुलका २ हजार ६२८ छात्रछात्रालाई तालिम दिइरहेको छ । अधिकांस स्थानमा तालिम सुरु भएको छ भने केही ठाउँमा सुरुवाती चरणमा छ ।

‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्य सहित मधेश, पहाड र उपत्यका गरि १४ जिल्लाका ४८ वटा जुनियर र २५ वटा सिनियर गरि ७३ वटा विद्यार्थीहरुको समूहलाई तालिम दिन थालिएको शिक्षालयका सेनानी टेकनारायण श्रेष्ठले बताए । महोत्तरीको बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सिनियर डिभिजन समूहको तालिमलाई उद्घाटन गर्दै उनले तालिम एक सय दिनको रहेको उल्लेख गरे ।

युवाशक्तिमा राष्ट्रिय भावना जागृत गराउन  राष्ट्रिय सेवा दलका प्रशिक्षकहरु खटिरहेका छन् । सेनानी भन्छन्, ‘तालिममले विद्यार्थीहरुमा अनुशासन, बफादारिता, समाजिक एकताको भाव जगाउँछ । साथै विपद्मा राहत तथा उद्धारमा जुट्न चाहिने कलाकौशल पनि सिकाउँछ ।’

समाजमा अनुशासनको खडेरी र मुल्य मान्यतामा ह्रास आइरहेका बेला नेपाली सेनाले ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यले अभिभावकहरुले मधेशमा छोरासंगै छोरीहरुलाई तालिममा पठाइरहेका छन् । देश र जनताको सुरक्षामा अनवरत अग्रसर सेनाले राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन तालिमका माध्यमद्वारा महत्वपूर्ण योगदान दिइरहेको राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनगरका विद्यालय व्यवस्थान समिति अध्यक्ष रामजतन महतोले बताए । अनुशासनको जगमा कर्मशील, स्वस्थ्य, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्ने कार्यमा नेपाली सेनाको ठूलो सहयोग रहेको उनले सुनाए ।

सेवा दलबाट प्रदान गरिने १०० दिनको उक्त तालिममध्ये ७९ दिन प्रत्येक विद्यालयमै प्रशिक्षक खटाएर दिने गरिएको छ। विद्यालय कक्षाको पढाइ सकिएपछि शारीरिक अभ्याससँगै सैद्धान्तिक ज्ञान समेटेर तालिम अन्य स्थानमा राखेर समुहमा प्रदान गरिन्छ । 

 

सम्बन्धित समाचार