उपप्राध्यापकमाथि आक्रमण गर्ने नेविसंघ नेताको मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको राय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका पाँच जना कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता प्रक्रिया अघि बढेको छ । महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ता लिन सकिने भनी दिएको राय गृह मन्त्रालय पुगेको छ ।

२० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावललगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगको मुद्दा छ । तर महान्यायाधिवक्ता खम्मबहादुर खातीले उनीहरुको मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानूनको प्रतिकुल नहुने भनी राय दिएका हुन् ।

‘रायका लागि आएको फाइल हेर्दा मुद्दा फिर्ता लिन नै नहुने र कानूनले बर्जित गरेको अवस्था देखिएन’ महान्यायाधिवक्ता कार्यालय प्रवक्ता सञ्जीव रेग्मीले भने, ‘मुद्दा फिर्ता लिन सकिने राय सहितको फाइल गृहमन्त्रालयमा पुगिसकेको छ । मुद्दा नै फिर्ता लिने कि नलिने सरकारको निर्णय हो ।’

अब गृहमन्त्रालयले सो फाइल कानून मन्त्रालयमा पठाउँछ । कानूनले मन्त्रिपरिषदमा पेश गर्छ र मन्त्रिपरिषदबाट मुद्दा फिर्ता हुने निर्णय भएमा फाइल महान्यायाधिवक्ता कार्यालयमा आउँछ । महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयबाट मुद्दा फिर्ताका लागि मुद्दा विचाराधीन भएको काठमाडौं जिल्ला अदालतको इजलासमा पेश गर्छ । इजलासले अनुमति दिएमा मुद्दा फिर्ता हुन्छ ।

सम्बन्धित समाचार