मिटर व्याजीलाई कारबाही गर्न सरकारसँग माग

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मिटर व्याजीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।  संसदको विशेष समयमा बोल्दै उनले मिटर व्याज मधेसको प्रमुख समस्या भएको भन्दै यसको उन्मुलनका लागि योजनाहरु कार्यान्वयनको चरणमा जानुपर्ने बताए। 

‘तराई मधेसमा एउटा प्रमुख समस्याको रुपमा मिटर व्याज रहेको छ। यस्तो परिस्थितिमा सम्मानित संसदले यस सन्दर्भमा ठोस कार्यक्रम निर्माण गरेर मिटरब्याजी प्रथाको उन्मुलन गरोस् भन्ने ध्यानाकर्षण गराउँदछु,’ उनले भने।

मिटरब्याजी समस्या मधेसको मात्रै नभएर सिंगो देशको समस्या भएको उनले बताए। तराई मधेसमा थोरै ऋण दिएर करोडौं रुपैयाँ बराबरको सम्पत्ति हडप्ने प्रवृति निकै वर्षदेखि फस्टाइरहेको पोखरेलको भनाइ छ।

कानुनी राज्यको अभाव र पर्याप्त चेतनाको अभावमा यस्ता सामाजिक अपराधमा संलग्नहरु सलबलाइरहेको उनले बताए। जग्गाधनीलाई सडकमा रोइकराई गर्नुपर्ने अवस्थामा पुर्‍याएर आफू भने आलिसान जिन्दगीमा रमाउनेलाई कडा कारबाही गर्नुपर्ने बताए।

‘मिटरब्याजीको विरुद्धमा विभिन्न संघर्षहरु भएका छन्। यसक्रममा मिटरब्याजीको विरुद्धको आन्दोलनको क्रममा  सर्लाहीमा डाचाराज वाग्लेको हत्या भएको छ। उहाँको रहस्यमय किसिमले हत्या भएको यहाँहरुलाई सर्वविदितै छ। महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा चर्को मिटरब्याजीको कारण त्यहाँका जनता प्रताडित रहेका छन्,’ उनले भने। 

अझै पनि सामन्तवादको अवशेष तथा ठिमाहा प्रवृतिको आर्थिक दबदबा रहेको कारण विगत वर्षहरुबाट भंगहा नपा-६ का साहुकारद्वय राजकरण शाह, रघुविर शाह र भंगहा नपा-५ का अनुरुद साहले स्थानीय दलित,थारु र अन्य समुदायका ३७ जनाभन्दा बढी ब्यक्ति र परिवारको जयजेथा हड्पेको उनको भनाइ थियो। 

सम्बन्धित समाचार