‘आधुनिक मगही भाषा व्याकरण’ बजारमा

काठमाडौं : ‘आधुनिक मगही भाषा व्याकरण’ बजारमा आएको छ। मगही भाषाका अनुसन्धानकर्ता वीरबहादुर महतोले व्याकरणको लेखन गरेका छन्। मगही अन्तर्राष्ट्रिय परिषद् तथा मगही फाउण्डेसनको समन्वय शम्भुनाथ नगरपालिका कठौना सप्तरीले व्याकरणको प्रकाशन गरेको छ। चालिस शीर्षकमा रहेको व्याकरणका बिषयवस्तु २२४ पृष्ठमा समेटिएको छ।

भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले व्याकरणमा लेखकलाई शुभकामना लेख्दै आधुनिक मगही भाषा व्याकरणले मगही भाषा उन्नयनमा योग्दान पुर्‍याएको उल्लेख गरेका छन्। ‘भाषाको पुस्तान्तरण गर्न र शिक्षाको माध्यमको रुपमा महगी भाषाको प्रयोग विस्तार गर्न व्याकरणले उल्लेख्य योगदान पुर्‍याउँछ,’ उनले भनेका छन्, ‘व्याकरण लेखनबाट मगही भाषाको विकाश, विस्तार र लेख्य परम्पराका लागि आधार निर्माणमा सहयोग पुगेको छ।’

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले लेखन कार्य आफैँमा कठिन विषय हो। त्यसमाथि व्याकरण लेख्नु अझै कठिन विषय हो। त्योभन्दा पनि महत्वपूर्ण कुरा मगहीजस्तो भाषामा व्याकरण लेख्नु आफैँमा उत्कृष्ट र कठिन कार्य रहेको उल्लेख गरका छन्।

मगही भाषा धेरै पहिले नै एउटा समृद्ध भाषाका रुपमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गतको मातृभाषा (साहित्य) विभागका प्रमुख लक्ष्मीमालीले बताइन्।

‘महामानव गौतम बुद्धले आफ्नो उपदेश मगही भाषामा प्रचार प्रसार गरेको इतिहास छ। सम्राट अशोककालीन शिलालेखहरुमा पनि पाइन्छ,’ उनले भनेकी छन्, ‘नेपाल विविध जनजाति, भाषा-साहित्य, संस्कृतिले भरिएको एउटा सुन्दर फूलबारी हो। यसै फूलबारीमा फूलेको एउटा सुन्दर फूल मगही भाषा तथा साहित्य हो।’

रौतहटको पूर्वी भागदेखि झापासम्म फैलिएका पीछडा वर्गले विशेष गरेर मगही भाषाको प्रयोग गर्ने गरेको व्याकरणमा उल्लेख छ। दलित र जनजातीहरुले आफ्नो मातृभाषाको रुपमा प्रयोग गर्ने मगही भाषाको संरक्षण र सम्वर्द्धनका लागि यो व्याकरणले महत्वपूर्ण रहेको प्रमुख मालीले उल्लेख गरेकी छन्।

त्रिभुवन विश्व विद्यालयका भाषा विज्ञान केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख प्रा.डा. दानराज रेग्मीले  संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको रुपमा मान्यता दिएको बताएका छन्। ‘प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने मात्र नभई आफ्नो भाषा, लिपी, संस्कृति र सम्पदाको सम्बर्द्धन र संरक्षण गर्ने हक पनि प्रदान गरिएको छ,’ उनले भनेका छन्, ‘यो व्याकरणमा मगही भाषाको वर्ण व्यवस्था, रुप व्यवस्था तथा वाक्य व्यवस्थाका बारेमा चर्चा गरिएको छ।’

सम्बन्धित समाचार