उपप्राध्यापकमाथि कुटपिटपछि अस्कलमा पठनपाठन बिथोलियो


काठमाडौँ — रसायनशास्त्र विभागका उपप्राध्यापक दिवाकर पाण्डेमाथि कुटपिट भएपछि अमृत साइन्स क्याम्पस (अस्कल) को पठनपाठन बिथोलिएको छ । एमालेनिकट अनेरास्ववियुका क्याम्पस इकाई सहसचिव पंकज पाण्डेयले गत आइतबार पाण्डेमाथि निर्घात कुटपिट गरेको आरोप छ ।
उपप्राध्यापकमाथिको आक्रमणको विरोधमा प्राध्यापक, कर्मचारी र विद्यार्थीले बुधबार क्याम्पसमा विरोध कार्यक्रम गरेका थिए । क्याम्पस परिसरभित्रै आक्रमण हुन थालेपछि पठनपाठनको वातावरण बिग्रिएको एक प्राध्यापकले बताए । उपप्राध्यापक पाण्डे क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद विभाग प्रमुखसमेत हुन् ।
जिल्ला अदालत काठमाडौंमा दर्ता गराएको किर्ते मुद्दा फिर्ता लिनुपर्ने निहुँमा कुटपिट भएको क्याम्पस प्रमुख लोकबहादुर बरालले जानकारी दिए ।
क्याम्पसका अनुसार अनेरास्ववियु केन्द्रीय सदस्य कमलराज जोशी र क्याम्पस अध्यक्ष रुद्रहरि पोखरेलले क्याम्पसको छाप र लेटरप्याड दुरुपयोग गरी किर्ते कागजात खडा गरेका थिए । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । तर प्रहरीले उनीहरूलाई बुधबारसम्म पक्राउ गरेको छैन । बीएस्सी सीएसआईटीको प्रवेश परीक्षाको मेरिट लिस्टमा उनीहरूले किर्ते गरेको प्राध्यापकहरू बताउँछन् । उक्त विषयमा अस्कल क्याम्पसमा १ सय ४४ जनाको कोटा थियो ।
प्रवेश परीक्षाका आधारमा पहिलो र दोस्रो मेरिट लिस्ट त्रिभुवन विश्वविद्यालय डिन कार्यालयले तयार गरेको थियो । विद्यार्थी अपुग भए तेस्रो लिस्ट क्याम्पसले नै तयार गरेर विद्यार्थी छनोटसहित भर्ना गराउने व्यवस्था गरिएको छ । तेस्रो लिस्ट तयार पर्दा जोशी र पोखरेलले क्याम्पसको छाप र लेटरप्याड दुरुपयोग गरेको ती प्राध्यापकले बताए । ‘मेरिटमा पर्ने विद्यार्थीको निवेदन गायब बनाएर मेरिटमा नै नपरेका विद्यार्थीको नाम भर्ना हुने लिस्टमा सार्वजनिक गरेको भेटियो,’ उनले भने ।
विभिन्न माग राखी आन्दोलन गर्दै आएका उनीहरूले मुद्दा दर्तापछि तालाबन्दीलगायत आन्दोलनको कार्यक्रम चर्काएका थिए । आरोपित जोशीले विद्यार्थी संगठनले विभिन्न माग राखेर तालाबन्दी गरेको र त्यही आन्दोलनलाई इगोका रूपमा लिएर मुद्दा दर्तासहित कुटपिटको आरोप लगाइएको बताए । जोशी उक्त क्याम्पसबाट एउटा तहको पढाइ पूरा गरिसकेका तर अर्को कक्षामा भर्ना भइनसकेका गैरविद्यार्थी हुन् ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विज्ञप्ति जारी गरेर भयरहित वातावरणमा अध्ययन/अध्यापन गराउने वातावरण मिलाउन माग गरेको छ । आक्रमणमा संलग्न पाण्डेयलाई कानुनी कारबाही गर्नसमेत माग गरिएको छ ।