आसेपासे भर्ना केन्द्र सोनमा गाउँपालिका ः वडा अध्यक्ष यादव


स्थानिय तहको निर्वाचन भएको एक बर्ष समय बितेको छ । महोत्तरीको सोनमा गाउँपालिका बिवादै बिवादले चिनिने गरेको छ । राज्यको पुनःसंरचनासँगै केही गाविस समेत गाँभी हालका वडाहरु ठुला र फराकिला बनाईएको छ । गाउपालिकाको बिभिन्न वडाका वडा अध्यक्षमध्ये पहिले पनि काम गरेको र दशकौ राजनीतिमा होमीएका हिसाबले पाका वडा अध्यक्ष हुन् वडा नम्वर १ का अध्यक्ष अशोक कुमार यादव । स्थानिय तहको निर्वाचनमा दोस्रो पटक जसपाकोे तर्फबाट वडा अध्यक्षको रुपमा निर्वाचित भएका यादवसँग महोत्तरी पोस्टका सहकर्मी अमृत कुमार महतोले गरेको छोटो कुराकानी ।
वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
म विगतमा पनि जनप्रतिनिधि भएर काम गरेको मान्छे हुँ । दोस्रो पटक वडा नं. १ को वडा अध्यक्ष भएर काम गरेकाले राजनीतिक हिसाबले काम गर्न कठिन छैन् । तर पहिले र अहिलेको अवस्था आकाश–पातलको फरक छ । पहिले गाउपालिकाका अध्यक्ष बजेट बाडफाडमा सम्मान व्यहवार गर्थो, काम गर्न सहज थियो । समयको माग पनि सीमित थियो तर अहिले त्यो अवस्था छैन् । पहिले पालिकाले पुर्ण रुपमा सहयोग गर्थे, अहिले पालिका अध्यक्ष एक्लै सत्ता चलाउन खोजेको छ । त्यसमा पनि आसेपासेलाई पालिकामा भर्ना गरेर धाकधम्की देखाउने, गुण्डा शैलीमा प्रस्तुत हुने, निर्वाचित वडा अध्यक्षहरुको कुरा नसुन्ने र आफ्नै पारामा चलाउन खोज्दा समस्या छ । सोनमा गाउँपालिका आसेपासे भर्ना केन्द्र भन्दा फकर पर्दैन । अर्को कुरा गाउपालिका अध्यक्ष र वडा अध्यक्षको बीचमा समन्वय हुँन नसक्दा समस्या पैदा भैरहेको छ ।
वडा अध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नु भयो ?
मैले आफ्नो कामको आँफै मुल्याङ्कन गर्ने कुरा आएन । यो त वडा भित्रका आम जनताले मुल्याङ्कन गर्ने कुरा हो । म आँफैले भन्नु पर्दा यो एक बर्षको समयमा धेरै कामहरु भएका छन् । निकै कठिन र अप्ठ्यरा कामहरु पनि गरियो भन्ने लागेको छ । विद्यालयहरुको शिक्षामा सुधारका लागी काम गर्दै छु । जनताको आवश्यतालाई मध्ये नजर गर्दै स्वास्थ्य बिषयमा छलफल गरेर काम गर्दै छु । र भए गरेका काम तथा भावी योजनाका विषयहरु बारे छलफल जारी छ ।
वडा कार्यालय नियमित नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
जनताको प्रशन होइन कुनै नेताले सुनाए होला तर गलत हो । म जुनसुकै हालतमा जस्तो काम भएको भएपनि दिनमा एकपटक वडा कार्यालय पुग्ने गरेको छु । वडा कार्यालयमा कर्मचारी नहुने जनताले सेवा नपाउने समस्या छैन ।
हजुरको क्षेत्रको विकासका लागि नगरपरिषदबाट के–के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
हामीलाई थाहा छैन । पालिका अध्यक्षले रेडबुक समेत हेर्न दिदैनन् । हामी वडा अध्यक्षहरु योजना बनाएर दिदा उहाले परिषद गराउनु हुन्छ तर परिषदकै भोलीपल्ट आफ्ना ढंगले अर्का बजेट बनाएर प्रस्तुत हुन्छ । प्राथमिकताका आधारमा योजनामा बजेट बिनियोजन हुदैन । त्यसैले कुनै ठोस योजना पनि छैन् । भएका कामको बिषयमा त मैले पहिले पनि चर्चा गरेँ । अब संघ र प्रदेशको आशामा बिकासको मोडेल बनाएर काम गर्ने योजना छ । वडालाई शैक्षिक हब बनाउने योजना बनाएको भएपनि बजेटको अभावले त्यो काम गर्न सकिएको छैन् । वडामा अत्यावस्यक कामहरु धेरै र बजेटको सिलिङ बजेटको अतोपतो नरहेकाले चाहेर पनि कतिपय कामहरु भएका छनैन् ।
तपाईको वडाका सडक कच्ची छन्, कहिलेसम्म पक्की बनाउनु हुन्छ ?
हो, हाम्रो वडामा पनि साना–साना कच्चि सडकहरु छन् । यि सडकलाई पिच हैन ढलान गर्ने मनसायमा म छु । मेरो वडाको सडकहरुलाई ढलान गर्ने योजना बनाएको छु । हाम्रो वडामा ९० प्रतिशत सडक ढलान भईसकेकोे छ । बाँकी चार बर्षमा १०० प्रतिशत सडक ढलान गर्ने योजना मैले बनाएको छु ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
पहिलो त खेत–खेतमा सिचाई उक्त वडाको रुपमा विकास गर्ने छु । स्वास्थ्य र शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै वडाको असल परिचय दिने बतावरण बनाउदै वडा भित्रका सडक जुनसुकै हालतमा मापदण्ड अनुसारका बनाईने छन् । सामाजिक सुरक्षा भत्ता वडाबाट बितरण गर्ने व्यवस्था गर्ने छु । जनताको जिउधनको सुरक्षामा हामी प्रतिबद्ध रहने छौं, भ्रष्टाचारको नियन्त्रणका लागि सबैखाले शक्ति प्रयोग गरेर सुशासनयुक्त वडा बनाईने छ । टेण्डरमार्फत हुने सबै कामलाई उपभोक्ता समितीमार्फत काम गर्ने वातावरण मिलाउने र सम्भावित अनियमितता कम गर्दै जवाफदेहीताको वातावरण सिर्जना गर्ने योजना छ ।
अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ कि ?
हामीलाई आफ्नो विचार राख्ने र वडामा भए गरेका कामको बिषयमा आम वडाबासीलाई जानकारी गराउने अवसर दिनुभएकोमा यहाँहरुलाई धन्यवाद । हामीबाट कहीं कतै कमजोरीहरु भएभने खबरदारी गर्ने क्षेत्रमा यहाँहरु हुनुहुन्छ । रचनात्मक खबरदारीको हामी सधैं प्रतिक्षामा रहँने छौं । अवसरका लागि तपाईं र तपाईको सञ्चारमाध्यामलाई धन्यवाद ।