‘म जिते भने सरकारी गाडि प्रयोग गर्दिन’ तर...


राजकरण महतो ।
‘म जिते भने सरकारी गाडि प्रयोग गर्दिन’ महोत्तरीको बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरबासीलाई स्थानीय तहको चुनावमा ढाडस दिदै भने । त्यसको म साक्षी थिएँ । मेयरले जितेपछि पदभार ग्रहण गर्दै पत्रकार समक्ष त्यसमा झन् थप्दै भनेका थिए, ‘मेयर चढ्ने गाडीलाई अब एम्बुलेन्स बनाउँछु । विकट क्षेत्रका नागरिकलाई त्यो एम्बुलेन्स हास्तान्तरण गर्छु ।’ एक वर्ष यो घोषणाबाट उनले वाहवाही बटुले । ६० लाखको गाडिलाई एम्बुलेन्स बनाउँदा थप खर्च लाग्छ । तर १५—२० लाखमा त नयाँ एम्बुलेन्स नै आउँछ । गाडीलाई एम्बुलेन्स बनाउने निर्णयलाई बुझ्नेहरुले आलोचना नै गरे ।
सरकारी गाडि नचढ्ने भन्दै अहिले मेयरले गरेको निर्णय उनलाई गलपासो बनेको छ । उनले ‘लुकीछिपी’ सरकारी गाडि प्रयोग गरिरहेका छन् । जुन लज्जाको बिषय हो । जेठ ११ पछि मेयरले केही दिन आफ्नो नीजि गाडी चढे । तर, पछि उनले सरकारी नम्बर प्लेटको गाडि प्रयोग गर्नु थाले । उनले नगरबासीको आँखामा एक प्रकारले खुर्सानीको धुँलो नै छर्किए । यो कार्यको आलोचना भएपछि पूर्वमेयर विदुरकुमार कार्कीले प्रयोग गरेको गाडी बर्दिबास सरकारी अस्पताललाई हस्तान्तरण गरे । त्यो गाडि अस्पतालसहित यदाकदा जनप्रतिनिधिले पनि प्रयोग गर्छन् ।
अहिले मेयर क्षेत्रीले प्रशासकीय अधिकृत चढ्ने गाडीमा सवार भएर जनताको काममा खटिएको पाइन्छ । मधेश प्रदेश राजपत्रले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सम्बन्धमा व्यवस्था गर्न बनाएको ऐनको दफा—५ मा यातायात सुविधा बारे उल्लेख छ । त्यसको उपदफा १ मा भनिएको छ, ‘प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षलाई स्थानीय तहको आन्तरिक श्रोत समेतको आधारमा सम्बन्धित स्थानीय तहले सवारी साधन (चारपांग्रे) उपलब्ध गराउन सक्नेछ ।’ कानुनले दिएको यातायात, तलवभत्ता लगायतका सुविधा ‘म लिन्न’ भनेर घोषणा गर्नु मेयर क्षेत्रीज्यूको आफ्नो स्वविवेकको कुरो होला । तर, ‘लिन्न’ भन्नेर घोषणा गरेको यातायात सेवा ‘चोरबाटो’बाट किन प्रयोग गर्नुहुन्छ ? प्रश्न यहाँ छ । उनी आफ्नै बोलीमा किन अडिनन् सकेनन् ? सरकारी गाडी नचढ्ने वक्तव्य दिएर मेयर क्षेत्रीले जनताको आँखामा तेजा खुर्सानीको छारो हाल्न मिल्छ ?
बर्दिबासको मेयरले वा जनप्रतिनिधिले नगरपालिकाको सेवा उपभोग गर्दिन भन्नु उनको स्वेच्छाको कुरो होला । जनताको काम गर्न खटिएका जनप्रतिनिधिले आवश्यक भएको श्रोतसाध प्रयोग गर्नु पाउनु पर्छ । जनतालाई सिंहदरबारले दिने सेवा, सुविधा सहज रुपमा घर दैलोमा दिइनुपर्छ । मेयरज्यू, तपाईं आफ्नो निर्णय फिर्ता लिँदा राम्रो । यदि यसो गर्न सक्नुहुन्न भने बोलेको कुरा व्यवहारमा लागु गर्दा अति राम्रो । अन्त्यमा, तपाईंले आवश्यक पर्दा सरकारी गाडि पनि प्रयोग गर्छु भन्नेर भन्दा राम्रो । यसले तपाईंलाई नै सहज बनाउँछ जस्तो लाग्छ ।
सरकारी नम्बर प्लेटका गाडीमा सवार भएर बाटो हिड्दा, सिंहदरबार पस्दा सहज हुन्छ । वेरोकटोक आउजाउ गर्न पाइन्छ । धेरै खुशी र दु्ःखीमा कुनै पनि निर्णय गर्नु हुँदैन । तपाईंसंग पनि यस्ता खाले थुप्रै अनुभव छ । मेरो एउटा सल्लाह मात्रै हो ।
हजुरको जो इच्छा !