हामीले तिरेको कर कहाँ गइरहेको छ हजुर ?


तस्वीर ः पशुपतिनग बजार
तस्वीर ः पशुपतिनग बजार
अमृत कुमार महतो, पशुपतिनगर । महोत्तरीको बर्दिबास नगरपालिकामा रहेको कृषि उपज हाटबजारलाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्नुपर्ने कृषकहरुले माग गरेका छन् । उनीहरुले बर्दिबास नगरपालिकाले कर मात्र लिने तर व्यवस्थापनमा चासो नदेखाएको गुनासो समेत गरेका छन् ।
कृषि हाटबजारमा सुधारको थोरै प्रयास भएपनि त्यो पर्याप्त नभएको उनीहरुको भनाई छ । हाटबजारलाई दिगो उदेश्यका साथ कृषक तथा व्यापारीले कृषि हाटबजारलाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन । दीर्घकालीन व्यवस्थापन भएन भने व्यापारी कम हुने भन्दै किसान चिन्तित भएका देखिन्छन् ।
उनीहरुले हाटबजारको दीर्घकालिन व्यस्थापनको माग गरेका छन् । किसानको मुख्य आम्दनीको स्रोत तरकारी भएकोले व्यवस्थित हाटबजारमा सधै भरी कृषि उपज बिक्री गर्न पाउनु पर्ने उनीहरुको भनाई छ । हालसम्म हाटबजारको व्यवस्थापन नहुदा उत्पादित कृषि उपज बिक्री गर्न समस्या हुने गरेको किसानको भनाई छ । उनीहरुले आफुबाट कर उठाउने तर हाटबजार व्यवस्थापनमा ध्यान नदिने, हामीले तिरेको कर कहाँ गइरहेको छ हजुर ? बर्दिबास नगरपालिका वडा नम्वर ९, पशुपतिनगरका किसान अवध महतो कोईरीले प्रश्न गरे ।
हाल लाग्दै आएको हाटबजार अव्यवस्थित तरिकाले संचालन गरिदैं आइएको छ । व्यवस्थापन नहुदा मmनै समस्या हुने भन्दै स्थायी हाटबजारको व्यवस्थाका लागि पहल गर्न आवश्यक रहेको बिजलपुरा बजारकी रितिका लामाले बताईन ।
हाटबजारमा समान्य सेवा नभएको किसानहरुको गुनासो छ । तरकारी व्यापारी बढ्दै गएकाले पनि हाटबजारको व्यवस्थापन अति आवश्यक रहेको किसाननगर हनुमान चोकका समाजसेवी युवा अमरेन्द्र प्रसाद यादवले बताए ।
बर्दिबास नगरपालिका अन्तर्गत पर्ने सबै हाटबजार स्थायी हाटबजारका लागि कदम चाल्नुपर्ने छलफल भईरहेको छ । अहिलेसम्म भईरहेको अस्थायी व्यापारलाई स्थायी बनाउनुपर्ने बर्दिबास नगरपालिकाका कृषि संयोजक घुरन महतोले बताए । उनले भने,‘ हाटबजार व्यवस्थित र स्थायी नहुँदा किसानलाई बेला बेलामा बिभिन्न समस्या खेप्नु पर्ने बाध्यता रहेको छ । यसका लागि कार्यपालिकामा छलफल गरेर काम थालिनु पर्छ ।’